विमानस्थलमा ११ हजार अमेरिकी डलरको बेवारिसे ब्याग बरामद

न्युजलय १२ बैशाख २०७९, सोमबार ०१:३७ मा प्रकाशित

काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बेवारिसे अवस्थामा रहेको अमेरिकी डलर बरामद गरेको छ । 

 

प्रहरीको विमानस्थल सुरक्षा कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फ विमान पार्किङस्थलमा पार्क गरिएको विमानभित्र १० हजार ८०० अमेरिकी डलर शनिबार साँझ बरामद गरेको हो ।


बुद्ध एयरको उडानद्वारा भद्रपुरबाट काठमाडौँ अवतरण भएको विमानको सिटमा छालाको हाते ब्यागभित्र बेवारिसे अवस्थामा रहेको उक्त डलर फेला पारेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

 

बरामद डलर आवश्यक अनुसन्धान एवं कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक पठाइएको प्रहरीले जनाएको छ ।