काठमाडौं । सांसद गंगा चौधरीले महिलाको मात्र भावना नभई पुरुषको पनि भावना बुझेर कानुन निर्माण हुनुपर्नेमा जोड दिएकी छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यौन हिंसा आफैमा जघन्य अपराध भएकोले सबैलाई समेटेर कानुन निर्माण गर्नुपर्ने बताइन् ।
सांसद चौधरीले समाजमा पछिल्लो समयमा भैरहेका यौनहिंसा घटनामा महिला र पुरुष दुबै दोषी भएको उनको भनाई थियो । उनले पल शाह प्रकरणलाई पनि मन मिलुञ्जेल माया र मन नमिलेपछि यौन हिंसाको संज्ञा दिइएको बताइन् ।
चौधरीले पूर्व सभामुख कृष्णबहादुर महरा प्रकरणतर्फ संकेत गर्दै उक्त केस पनि स्वार्थ नमिलेपछि बाहिर आएको बताइन् ।
सांसद चौधरीले आफुलाई महिलाको विरोध गरेको आरोप नलाउन आग्रह गर्दै देशको कानुन बनाउने स्थानमा आफु भएकोले त्यसलाई हेक्का राखेर मात्र कुरा राखेको बताइन् । उनले पुरुषको पीडालाई पनि सम्बोधन गर्नुपर्ने बताउँदै उक्त विषयसँग जोडिएका कानुनहरु पनि संशोधन गर्नुपर्नेमा जोड दिइन् । उनले विवाहसम्बन्धी २० वर्षे हदम्यादलाई घटाउनुपर्ने बताइन् । उनले भनिन्, ‘विवाहसम्बन्धी २० वर्षे उमेर हद पनि घटाउनुपर्छ । १३ वर्षका नानीहरूले पनि बच्चा जन्माइसकेका छन् । त्यो अवस्थालाई हेरेर पनि हामीले कानुन निर्माण गर्नुपर्छ ।’
उनले महिलाहरुको पीडा सुन्ने राष्ट्रिय महिला आयोग भएजस्तै पुरुषको पीडा सुन्ने निकाय हुनुपर्नेमा समेत जोड दिइन् ।