शोकमा पाएको सद्भावले देश र जनताप्रति थप जिम्मेवार हुन प्रेरित गरेको छः प्रधानमन्त्री प्रचण्ड

न्युजलय २ साउन २०८०, मङ्गलबार ०७:४२ मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पत्नी सीता दाहालको निधनमा पाएको साथ, सद्भाव र सहयोगले देश र जनताप्रति थप जिम्मेवार हुन प्रेरित गरेको बताएका छन् । 

मंगलबार(आज) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले आफूहरुले शोकको क्षणमा पाएको साथ, सद्भाव र सहयोगले पीडाबाट बाहिर निस्कनमात्रै भएर देश र जनताप्रति थप जिम्मेवार हुन प्रेरित गरेको बताएका हुन् ।

पछिल्लो समय आफूहरुले दुई सन्तानको असामयिक र अकल्पनीय मृत्यु बेहोर्दा पनि सीताले आफ्नो शरीरले साथ दिएसम्म पीडामा पनि दृढतापूर्वक उभिएको उनको भनाई छ ।

सीता विरामी भएपछि आफूहरुले राज्यको कुनै सुविधा नलिएर नै उपलब्ध भएसम्मको सबैखाले उपचार पद्धति अपनाएको प्रचण्डले बताए । थलामा परेपछि सीताको अन्तिम अवस्था दुःखदायी र कष्टप्रद हुन्छ कि भनेर आफूहरुलाई निकै चिन्ताले सताएको प्रचण्डले स्मररण गरे ।

‘उनको पीडादायी मृत्यु देख्नपर्छ कि भन्ने हामीलाई चिन्ता थियो । तर, बाँच्दासम्म अरुलाई पीडा दिन नजानेकी मृत्यु पनि निकै शान्त रोजिन्,’– उनले भने ।