नेपाल र भारतमा तीव्र गतीमा फैलिँदै कोरोना, भारतमा एकै दिन २० जनाको मृत्यु

न्युजलय १२ असार २०७९, आइतबार ०२:२३ मा प्रकाशित

काठमाडौँ । नेपालमा कोरोना संक्रमण बढ्न थालेको छ । दुई सातामा कोभिडको संक्रमण तीन गुणाले बढेको छ । 

संक्रमण दर उकालो लागेसँगै सक्रिय संक्रमितको संख्या पनि बढेको छ । दुई साताअघि (२९ गते जेठमा) १०६ जना सक्रिय संक्रमित रहेकामा शनिबार त्यो संख्या बढेर १८८ पुगेको छ । त्यस्तै सघन उपचार कक्षामा भर्ना हुने कोभिड बिरामीको संख्यासमेत चार पुगेको छ । 

विज्ञहरूका अनुसार संक्रमण बढ्ने क्रम दुई महिनादेखि नै सुरु भए पनि एक सातायता तीव्र बनेको हो । कोभिडको केस बढेपछि सबै अस्पताललाई सतर्क हुन पत्र पठाइसकेको छ । भारतमा संक्रमण बढ्ने क्रमसँगै नेपालमा पनि त्यसको प्रभाव देखिन थालेको हो । 

भारतमा शुक्रबार कोभिडले २० जनाको मृत्यु भएको छ भने संक्रमण दर बढेर ४.३९ प्रतिशत पुगेको छ । कोभिड संक्रमितको संख्या करिब एक लाख पुगेको छ । संक्रमण उकालो लागेपछि भारतमा बढी संक्रामक मानिएका ‘बीए ४’ र ‘बीए ५’ भेरिएन्ट नेपाल भित्रिएको आशंका गरिएको छ ।