काठमाडौं महानगरमा गुनासो सुन्न कल सेन्टर स्थापना गरिने

न्युजलय १७ जेठ २०७९, मङ्गलबार ०२:०८ मा प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिकामा गुनासो सुन्नका लागि कल सेन्टर स्थापना गरिने भएको छ । वैशाख ३० गतेको निर्वाचनबाट चुनिएका महानगरका जनप्रतिनिधिको सोमबार बसेको पहिलो नगर कार्यपालिकाको बैठकले महानगरबासीको गुनासो सुन्नका लागि कल सेन्टर स्थापना गर्ने निर्णय गरेको हो ।

 

मेयर बालेन्द्र साहले यससम्बन्धी प्रस्ताव बैठकमा राखेका थिए । कल सेन्टर सात दिनभित्र स्थापना गरिने निर्णय कार्यपालिका बैठकले गरेको हो । त्यस्तै बैठकले रेष्टुरेन्ट, होटल, पेट्रोल पम्पको शौचालय सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्ने निर्णय गरेको छ । 


रेष्टुरेन्ट र चेन होटल व्यवसायीसँगको कुराकानीका क्रममा उनीहरुको शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्न सकिनेबारे छलफल भएको भन्दै मेयर बालेन साहले बैठकमा प्रस्ताव गरेका थिए । सार्वजनिक शौचालयहरू पनि बनाउँदै जाने उनले बताए ।