डा. सुनील शर्माको कक्षा १२ को प्रमाणपत्र नक्कली : सीआइबी

न्युजलय २६ साउन २०८०, शुक्रबार ०१:०२ मा प्रकाशित

काठमाडौँ । विराटनगरस्थित नोबेल मेडिकल कलेज र काठमाडौको केएमसी मेडिकल कलेजका सञ्चालक प्रतिनिधिसभा सदस्य डा. सुनील शर्माको प्रमाणपत्र नक्कली भएको खुलेको छ । उनको कक्षा १२ को प्रमाणपत्र नक्कली भएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । बेलबारी–९ मोरङका शर्माले भारतबाट कक्षा १२ उत्तीर्ण भनि ल्याएको प्रमाणपत्र नक्कली भएको सीआईबीले जनाएको छ । 


सीआईबीले गरेको लामो अनुसन्धानपछि उनको कक्षा १२ को प्रमाणपत्र नक्कली भएको पाइएको भन्दै विज्ञप्ती जारी गरेको छ । सीआईबीको टोलीले उनलाई राजधानीको टोखा क्षेत्रबाट पक्राउ गरेको थियो । उनीसहित तीन जनालाई पक्राउ गरेको सीआईबीले सबै कीर्ते अभियोगमै मुछिएका व्यक्तिहरु भएको जनाएको छ । 


प्रहरीले अप्रेशन ‘फोक्सट्रोट चार्ली’ नाम दिएको यो प्रकरणमा शर्मासहित चार जनालाई पक्राउ गरिएको जनाइएको छ । उनीसँगै पिपरा–८ महोत्तरी घर भएका डा. रञ्जितकुमार यादवसमेत पक्राउ परेका छन् । उनको पनि कक्षा १२ को प्रमाणपत्र नक्कली रहेको खुलेको हो ।


यसैबीच सीआईबीले संसद् सचिवालयलाई सांसद सुनील शर्मा पक्राउसम्बन्धी जानकारी गराएको छ ।