रामायण सर्किटअन्तर्गतको रेल नेपाल आउँदै

न्युजलय ९ असार २०७९, बिहिबार ०१:५६ मा प्रकाशित

जनकपुर । रामायण सर्किटअन्तर्गत सञ्चालन हुने भारतीय रेल आज जनकपुरधाम आउँदै छ । रेलमा भारतीय पर्यटकहरु सवार हुनेछन् ।  ‘भारत गौरव पर्यटक रेल’ नाम दिइएको रेल आज दिउँसो जनकपुर स्टेसनमा आइपुग्ने छ ।

भारतीय पर्यटकहरुलाई जनकपुर भ्रमण गराउन मधेश प्रदेश सरकारको उद्योग, पर्यटन तथा वन मन्त्रालयले समन्वय गरेको छ । उनीहरुलाई जानकी मन्दिर, धनुषाधाम र जनकपुरमा दैनिक हुने गंगा आरतीमा सहभागी गराउने तयारी छ ।

नयाँदिल्लीको सफदरजंग रेल्वे स्टेशनबाट प्रस्थान गरेको रेल भारतको अयोध्या, नन्दीग्राम हुँदै आज जनकपुर आउन लागेको हो । जनकपुरधामबाट सीतामढी, बनारस, प्रयागराज, चित्रकुट, पञ्चवटी, नसिका, हम्पी, रामेश्वरम, काँचिपुरम, भद्राचलम हुँदै उक्त रेल पुनः दिल्ली फर्किने छ ।

सो रेलको सबै १४ डिब्बामा भारतीय लोककला, सँस्कृति, परम्परा, सम्पदाल झल्काउने तस्वीर राखिएको छ ।