रेडपाण्डाको छालासहित सेनाका हवल्दार र प्रहरीका दुई परिचर पक्राउ

न्युजलय १६ पुस २०७८, शुक्रबार ०४:३० मा प्रकाशित

काठमाण्डौ । वन्यजन्तु रेडपाण्डाको छाला तस्करीमा नेपाली सेनाका हवल्दार र नेपाल प्रहरीका परिचर नै संलग्न भएको भेटिएको छ । 

चार थान रेडपाण्डको छालासहित महानगरीय अपराध महाशाखाको टोलीले उनीहरूलाई पक्राउ गरेपछि घटनाको पुष्टि भएको हो । 

महाशाखाले बसुन्धरास्थित द मयूर क्याफेबाट धादिङ गंगाजमुना गाउँपालिका–७ का निरबहादुर घले, सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी गाउँपालिका–१३ का सुरेश गिरी, नुवाकोट शिवपुरी गाउँपालिकाका–४ का कृष्णबहादुर तामाङ र ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका–२ का मोहनकर्ण कार्कीलाई पक्राउ गरेको थियो ।

पक्राउ परेकामध्ये घले नेपाली सेनाका हवल्दार हुन् । तामाङ र कार्की नेपाल प्रहरीका परिचर हुन् । 

महाशाखाले पक्राउ परेकामध्ये एक सेनाका हवल्दार र दुईजना प्रहरीका परिचर रहेको जनाएको छ । रेडपाण्डको छाला कारोबार भइरहेको सुराकपछि प्रहरी घटनास्थल पुगेको बताइएको छ । 

प्रहरीको अनुसन्धानमा एक लाख रुपैयाँ पाउने प्रलोभनमा उनीहरू रेडपाण्डाको छाला कारोबारमा संलग्न रहेको खुलेको छ । उनीहरू भरिया मात्रै रहेको प्रहरीको भनाइ छ । उनीहरूले तीस लाख रुपैयाँमा छाला बिक्री गर्न खोज्दै थिए । महाशाखाले पक्राउ परेका चारैजनालाई थप अनुसन्धानका लागि जिल्ला वन कार्यालय काठमाडौंमा बुझाएको छ ।