काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी आगामी प्रदेशसभा निर्वाचनमा सहभागी नहुने भएको छ । पार्टीको केन्द्रिय समितिको निर्णय अनुसार यो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवारी, मात्र संघीय तहको प्रत्यक्ष र समानुपातिक निर्वाचनमा रहनेछ ।
‘देशका सातै प्रदेशमा पुगेर भेला सम्पन्न गर्दा हजारौं नागरिकले दिएका अधिकांश सल्लाहमा प्रदेश संरचनाको असन्तुष्टि व्यापकरूपमा देखेको बताउँदै अध्यक्ष लामिछानेले प्रदेश तहको अहिलेको संरचना राज्यकोषको दोहन गरेर राजनीतिक दलका नेता व्यवस्थापन गर्ने थलो बनाइएको देखिएको जिकिर गरे ।
उनले भनेका छन,’यहि संरचनामा हामी प्रदेश मातहतमा सहभागी हुनु भनेको राज्य कोष दोहनमा सहभागी हुनु बाहेक केही होइन । प्रदेश तहमा सहभागी नहुने कुराको आधिकारिक जानकारी हामीले निर्वाचन आयोगलाई गराएका छौं ।’
लामिछानेको पार्टीले प्रदेश संरचना पुरै खारेज गर्ने भनेको भने छैन । उसले प्रदेश सभा खारेज गर्ने यसमा केही सुधार गरेर प्रदेश संरचनामा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीको प्रस्ताव गरिएको छ । उनको प्रस्तावनामा प्रदेश संरचना यस्तो हुनेछ ः–
- प्रत्यक्ष निर्वाचित मुख्य मन्त्री ।
- मुख्य मन्त्रीले नै नियुक्त गर्ने गरी उप मुख्य मन्त्री र प्रत्येक जिल्लाबाट एक एक जिल्ला प्रमुख ।
- प्रदेश सभा खारेज गर्ने ।
- प्रदेशका सबै मन्त्रालय खारेज गर्ने ।
- पालिका सभा सदस्य हरुमध्येबाट २१ देखि ३५ जनाको समानुपातिक समावेशी प्रदेश परिषद् गठन गर्ने।
- प्रदेश परिषद्को बैठक वर्षमा जम्मा दुई पटक बस्ने बाकि समय पालिकामै सक्रिय हुने ।