काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध पूर्णिमाको अवसर पारेर नेपाल भ्रमणमा आउने भएका छन्। मे १६ अर्थात् जेठ २ भन्दा अघि नै उनी नेपाल भ्रमणमा आउने तयारी रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
भारतीय पत्रिका द हिन्दूले स्रोतलाई उधृत गर्दै प्रधानमन्त्री मोदी नेपाल भ्रमणमा आउन लागेको उल्लेख गरेको छ। बुद्ध पूर्णिमाको अवसरमा लुम्बिनीमा हुने समारोहमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी मोदी सहभागी हुने सम्भावन रहेको द हिन्दूले उल्लेख गरेको छ।
नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा द्विपक्षीय भ्रमणका लागि भारत गएको एक महिनापछि हुन लागेको भारतीय प्रधानमन्त्रीको भ्रमण तत्काल रोकिने अवस्था नरहेको बताइएको छ। हाल युरोप भ्रमणमा रहेका छन्।
नेपाल भ्रमणका क्रममा कुनै औपचारिक द्विपक्षीय छलफल भने नहुने बताइएको छ। भारतीय प्रधानमन्त्रीले नेपाल भ्रमण गर्ने भएपछि नेपालका लागि भातरीय राजदूत पठाउन पनि सरकारले द्रुत गतिमा तयारी गरिरहेको पनि जनाइएको छ।
प्रधानमन्त्रीको नेपाल भ्रमण केही घन्टा मात्र हुने र उनले २५०० वर्षअघि राजकुमार सिद्धार्थ गौतमका रूपमा जन्मिएका बुद्धको जन्मस्थल मायादेवी मन्दिरमा पुग्ने कार्यक्रम रहेको छ।
भारतीय प्रधानमन्त्री मोदी दिल्लीबाट कुशीनगर अन्तर्राष्ट्रिय विमानस्थलको लागि प्रस्थान गर्ने र त्यसपछि हेलिकप्टरबाट लुम्बिनी जाने बताइएको छ। आफ्नो अघिल्लो कार्यकालमा उनले चार पटक नेपाल भ्रमण गरेका थिए । जसमा दुई पटक २०१४ र दुई पटक २०१८ मा भएको थियो।