मालीमा हिंसात्मक घटना हुँदा १६ जना सैनिकको मृत्यु

न्युजलय ९ चैत २०७८, बुधबार ०८:५८ मा प्रकाशित

काठमाडौं । अफ्रिकी मुलुक मालीमा भएका छुट्टाछट्टै दुई आक्रमणमा परी १६ जना सैनिकको मृत्यु भएको छ । पछिल्ला केही वर्षयता हिंसात्मक आक्रमणको चपेटामा पर्दै आएको मालीमा भएका बेग्लाबेग्लै घटनामा १६ सैनिकको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।


हिंसात्मक घटनामा अरु १८ जना घाइते भएको बताइएको छ । आक्रमणपछि गरिएको जवाफी कारवाहीका क्रममा ३७ विद्रोही लडाकु पनि मारिएका र उनीहरूबाट ठूलो परिमाणमा हतियारहरू जफत गरिएको मालीको सेनाले जानकारी दिएको छ ।


आक्रमणमा आतंकवादी संगठन इस्लामिक स्टेटको हात रहेको बताइएको छ । दुई करोड १० लाख जनता भएको गरिब राष्ट्र मालीमा सन् २०१२ मा शुरु भएको तुआरेग विद्रोह र इस्लामिक अतिवादीको हिंसाका कारण दशौं हजार मानिसहरुको ज्यान गइसकेको छ भने अरु धेरै घाइते भएका छन् ।


त्यसयता आतंकवादी आक्रमणहरु छिमेकी मुलुकहरु बुर्किना फासो, मौरिटेनिया, निजेरजस्ता मुलुकमा समेत फैलिएको छ । हिंसा अन्त्यका लागि मालीका पूर्व उपनिवेशकर्ता मुलुक फ्रान्सले त्यहाँ सन् २०१३ मा अपरेशन सर्भल नामक सैनिक कारवाही अघि बढाएको थियो ।