नेपालमा पनि वायु प्रदूषण बढ्दै, देशव्यापी लकडाउन गर्न सकिने

न्युजलय ३ मङ्सिर २०७८, शुक्रबार ०१:१३ मा प्रकाशित

काठमाडौं । विज्ञहरूले नेपालमा वायु प्रदूषण बढ्दै गएको भन्दै सचेत रहन नागरिकहरूलाई आग्रह गरेका छन् । 


जलवायु विज्ञ डा.धर्मराज उप्रेतीले नेपालमा वायु प्रदूषण बढ्दै गएकाले त्यसतर्फ सचेत रहन आग्रह गरेका हुन् । बङ्गालको खाडी र पश्चिम अरेबियन सागरमा उत्पन्न भएको एक किसिमको जलवायु प्रणालीका कारण भारतका केही सहरमा ठूलो वर्षा हुने र त्यसको असर नेपालमा पनि देखिने उनले बताए । डा. उप्रेतीले हिजो बुधबार बेलुकादेखि नै काठमाण्डौलगायत देशभरका केही सहरमा वायुको गुणस्तर कम भएको बताए । उनले दक्षिण भारतमा दुई सय १५ मिलिमिटरभन्दा बढी वर्षा हुने सम्भावना रहेको र भारतमा देखिएको प्रदूषण उत्तरतर्फ सर्दा नेपालमा असर पर्ने बताए । 


डा.उप्रेतीले नेपालमा वर्षा नभए पनि उच्च हिमाली क्षेत्रमा हिमपात र बाक्लो कुहिरो लाग्ने तथा तराईमा शीतलहर देखापर्ने बताए । उनले भारतका केही सहरमा प्रदूषणको मात्रा खतराको तहभन्दा माथि रहेको र हावाको दिशा उत्तरतर्फ सरेमा काठमाण्डौ पनि प्रभावित हुने बताए । डो उप्रेतीले विराटनगर, धनगढी, महेन्द्रनगरलगायतका ठाउँमा वायु प्रदूषणको स्तर बिग्रिँदै गएको बताए ।  


डा.उप्रेतीले वायु प्रदूषण कम गर्न धुलोलाई घटाउने गरी नगरपालिकाहरूले पानी छर्कने, उद्योगहरू केही दिनका लागि बन्द गर्ने र गाडी बन्द गर्ने लगायतका काम बेलैमा गर्नुपर्ने बताए । उनले वायु प्रदूषण बढ्दै गएमा देशव्यापी लकडाउन गर्नुपर्ने बताए । डा.उप्रेतीले वायु प्रदूषणका कारण श्वासप्रश्वासमा समस्या हुनेदेखि विभिन्न रोग निम्त्याउन सक्ने बताए ।