काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले भैरहवाबाट हङकङमा सिधा उडान गर्ने भएको छ । काठमाडौँबाट हङकङ सिधा उडान गरिरहेको नेपाल एयरलाइन्सले भैरहवाबाट पनि उडान सञ्चालन गर्न लागेको हो ।
विश्व प्रसिद्ध लुम्बिनीलाई हवाई हङकङसँग जोडेर त्यहाँबाट बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले उडान विस्तार गर्न लागिएको निगमले जनाएको छ । निगमले भैरहवाबाट भारतको नयाँ दिल्लीमा पनि छिट्टै उडान सञ्चालनको योजना बनाएको छ ।
निगमले गत जेठ २९ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्नाका साथै भैरहवा–मलेसिया र मलेसिया–भैरहवा–काठमाडौँमा उडान गरिरहेको हो ।
राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान तदारुकताका साथ गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको समन्वयमा निगम व्यवस्थापनले विशेष पहल गरी उडान सुरु गर्ने निर्णय गरेको निगमले जनाएको छ ।