एमाले कोशी उपाध्यक्षमा चेम्जोङसहित ४९ निर्विरोध

न्युजलय १४ असोज २०८०, आइतबार ११:५३ मा प्रकाशित

विराटनगर । एमाले कोशीको प्रथम महाधिवेशनले दुई सय १५ सदस्यीय प्रदेश कमिटीका लागि उपाध्यक्षमा धनकुटाका टिकाराम चेम्जोङसहित ४९ जना निर्विरोध निर्वाचित हुने भएका छन् । 


उपाध्यक्षमा चेम्जोङको मात्रै उम्मेदवारी दर्ता भएकोले उनी निर्विरोध निर्वाचित हुने अवस्था आएको हो । 

दुई सय १० सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका ४४५ उम्मेदवारमध्ये सोलुखुम्बु, पाँचथर, इलाम जिल्लासहित ४८ सदस्य निर्विरोध निर्वाचित हुने भएको छ । 


प्रदेश कमिटीको अध्यक्षमा लेटाङ नगरपालिकाका घनश्याम खतिवडा र विराटनगरका विनोद ढकालले उम्मेदवारी दर्ता गराएका छन् । सचिवमा पाँचथरका राजकुमार भण्डारी र उदयपुरका शैलेस लामा, उपसचिवमा खोटाङका देउमान राई र संखुवासभाका भविश्वर गुरूङ र समावेशी उपसचिवमा झापाकी जलवर्षा राजवंशी र मोरङका खेम नेपालीले उम्मेदवारी दर्ता गराएका हुन् ।


मनोनयन दर्ता भइसकेकोले आइतबार उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेर मतदान प्रक्रिया सुरू हुने बताएका छन् । अहिले उम्मेदवारहरूको नामावली प्रकाशन गरिएको छ दुई सय १५ सदस्यीय प्रदेश कमिटीका लागि ४५४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।