काठमाडौँ । पशुपति धर्मशाला भवन छाड्न बतास समूहलाई एक साताको ‘अल्टिमेटम’ दिइएको छ । पशुपति क्षेत्र विकास कोषले समूहअर्न्तगतको होटल आनन्दलाई बुधबार पठाइएको पत्रमा जेठ मसान्तभित्र धर्मशाला खाली गरेर साँचो बुझाउन भनिएको छ ।
होटल आनन्दलाई ०७६ जेठ १ गते करार सम्झौता गरी कोषले धर्मशाला भाडामा दिएको थियो । तर, करार सम्झौताहरुको गम्भीर उल्लंघन भएको जनाउँदै ०७८ चैत १४ गते बतास समूहसँग सम्झौता रद्द भइसकेको छ । अदालत पुगेको बतासको विरुद्धमा अदालतले पनि फैसला गरेपछि करार रद्द गर्ने कोषको निर्णय कार्यान्वयनका लागि बाटो खुलेको थियो ।
कोषले बतास समूहलाई जेठ मसान्तसम्मको बाँकी बहाललगायतका भुक्तानी गर्नुपर्ने रकम तिरेर हिसाब फरफारक गराउनुका साथै सम्झौताविपरीत भएका कामका कारण कोषलाई पर्न गएको हानी नोक्सानी पनि तिर्न भनेको छ ।
छानविन समितिले धर्मशाला निर्माण गर्दा र सम्झौता भएबमोजिम बेडको संख्या र दररेट फरक पारेको, कोषलाई बुझाउनु पर्ने करिब एक वर्षको भाडा नबुझाएको, धर्मशालामा विभिन्न अफिसहरु राखेको, कोषको स्वीकृतिबेगर धर्मशालाको भित्री भौतिक संरचना बाहिरी खाली भागमा विभिन्न सरञ्चनाहरु निर्माण गर्नेजस्ता कार्यहरु गरी बतास समूहले सम्झौताको उल्लंघन गरेको औंल्याएको थियो ।
छानबिन समितिले धर्मशाला अवलोकनमा जाँदा बतास समूहले कम्तीमा ९ वटा अन्य व्यवसाय पनि सञ्चालन गरेको जनाउँदै धर्मशाला भाडामा लगाउने सम्झौता रद्द गर्नुपर्ने सिफारिस गरेको थियो ।