काठमाडौंमा थप तीन जनामा हैजा पुष्टि

न्युजलय ८ असार २०७९, बुधबार ०७:०७ मा प्रकाशित

काठमाडौं । काठमाडौं उपत्यकामा थप तीन जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ। योसँगै उपत्यकामा हैजाका बिरामीको सङ्ख्या पाँच पुगेको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार, दुई जनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा हैजा पुष्टि भएको छ। त्यस्तै, अर्का एक जनाको पाटन अस्पतालले आरडीटी परीक्षण गर्दा हैजा देखिएको छ। उनको थप कल्चर गर्न बाँकी रहेको जनाइएको छ।

बूढानीलकण्ठ नगरपालिकाको कपन र सानेपाका बासिन्दामा हैजा पुष्टि भएको महाशाखाले जनाएको छ । उनका अनुसार, महाशाखाले अनुसन्धानका लागि टोली खटाइसकेको छ।

यसअघि काठमाडौंको बागबजारमा बसोबास गर्ने एकै परिवारका दुई जनामा हैजाको सङ्क्रमण पुष्टि भएको थियो। हाल उनीहरू आईसीयूमा रहेको र स्वास्थ्यमा सुधार भइरहेको बताइएको छ ।