लेटाङ । मोरङको लेटाङ नगरपालिकामा विद्यार्थी दुर्व्यवहारको विषयलाई लिएर भएको झडपमा एक जना महिला प्रहरीको ज्यान गएको छ । आईतबार दिउँसोबाट सुरु भएको झडपका क्रममा आक्रमणमा परी साझ महिला प्रहरीको ज्यान गएको स्थानीयले जनाएका छन् । उनको घाँटीमा धारिलो हतियारले प्रहार गरिएको छ ।
लेटाङ-५ खेरुवास्थित शिक्षा विकास माविका ५६ वर्षीय शिक्षक मनोज पौडेलले कक्षा ६ मा अध्ययनरत विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएसँगै आक्रोशित विद्यार्थी र सुरक्षाकर्मीबीच भीडन्त भएको हो ।
आक्रोशित भीडले शिक्षकलाई विद्यालय बाहिर निकालेर कुटपिट गर्न खोजेपछि प्रहरीले जोगाएको थियो । आक्रोशित प्रदर्शनकारीले प्रहरीमाथि सांघातिक आक्रमण गरेका हुन् ।
स्थानीयले विद्यालयमा आगजनीसमेत गरेका छन् ।
स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले हवाई फायर गरेको थियो। स्थानीयका अनुसार यसक्रममा एक युवकलाई पनि गोली लागेको छ। प्रहरीले महिला प्रहरीको नाम लगायत अन्य विषयमा आधिकारिक जानकारी दिइसकेको छैन ।