कोशीमा सरकारबाट बाहिरिएको एमालेले विश्वासको मत भने कायम राख्ने

न्युजलय २० कार्तिक २०८०, सोमबार ०३:४१ मा प्रकाशित

विराटनगर । सरकारबाट बाहिरिएपनि मुख्यमन्त्री केदार कार्कीलाई दिएको विश्वासको मत कायम राख्ने नेकपा एमालेले जनाएको छ । 


सोमबार बसेको दलको बैठकले मन्त्रीले राजीनामा दिए पनि विश्वासको मत भने कायम राख्ने निर्णय गरेको प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए। 


कोशीमा एमालेको समर्थनमा काङ्ग्रेसबाट विद्रोह गरेका कार्की मुख्यमन्त्री नियुक्त भएका थिए । सरकार निर्माणका क्रममा कार्कीका पक्षमा कांग्रेसका ८ जना तथा एमालेका ३९ सांसद गरी ४७ सांसदको समर्थन जुटेको थियो ।


तर विश्वासको मत लिने क्रममा नेकपा एमाले ३९, कांग्रेस २९, नेकपा माओवादी केन्द्र १३, नेकपा एकीकृत समाजवादी पार्टी ४ र जनता समाजवादी १ सहित ८६ सांसदको मत कार्कीले पाएका थिए । 


सरकार निर्माणका क्रममा सुरुमा एमाले र काँग्रेस मन्त्री नियुक्त भएकोमा सरकारमा माओवादी र समाजवादीसमेत सहभागि गराउने भएपछि एमाले मन्त्रीले राजिनामा दिएर सरकार छाडेका थिए ।