रुपन्देही । भारतको गोरखपुरमा ‘लेडी डन’ को नामले चर्चित गीता तिवारीलाई रुपन्देही प्रहरीले भैरहवाबाट पक्राउ गरेको छ ।
चोरी, लुट, हत्या आरोप लगायतको घटनामा संलग्न रहेको आरोपमा भारतीय प्रहरीको हिरासतमा रहेकी उनी धरौटीमा रिहा भएकी थिइन् । तिवारीलाई रुपन्देही प्रहरीले बिभिन्न चोरीको घटनामा संलग्न रहेको आरोपमा पक्राउ गरेको हो ।
रुपन्देही प्रहरीका अनुसार तिवारी भैरहवामा भएको सिलसिलेवार चोरी घटनाकी मूख्य आरोपी हुन ।
भारत गोरखपुर बस्ने ४३ बर्षिय गीता तिवारीलाई चोरी तथा डाका सम्बन्धि कसुरमा ५ दिन म्याद थप गरि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । यस्तै हातहातियार तथा खरखजाना सम्बन्धि कसुरमा समेत अनुसन्धान भईरहेको बताइएको छ । तिवारीका समूहका अन्य सदस्यहरुको समेत खोजी भईरहेको छ ।
प्रहरीले तिवारीबाट कटुवा पेस्तोल जस्तो देखिने पेस्तोल १ थान, केएफ ७ दशमलव ६५ लेखेको गोली ३ राउण्ड, २ वटा खुकुरी, १ वटा चक्कु, सलाई रिन्च ३ वटा, छिनो १ वटा, एक वटा मोटरसाईकल, भारतीय नम्बर प्लेट भएको स्कुटि १ वटा, ग्यासकटर, ७ हजार ६ सय ६५ नेपाली रुपैया र ५ हजार ४ सय ४५ भारतीय रुपैया बरामद भएको प्रहरीले जनाएको छ ।