अछाममा पहिरोः नौ जनाको मृत्यु, २० जना घाइते

न्युजलय ३२ भदौ २०७९, शनिवार ०५:०३ मा प्रकाशित

काठमाण्डौ । अछामको कमल बजार नगरपालिका तथा ढकारी र तुर्माखाँद गाउँपालिकामा पहिरो जाँदा नौ जनाको मृत्यु भएको छ । घटनामा  २० जना घाइते भएको बताइएको छ । 

कमलबजारकै वडा नं ८ मा चाउरे दमाइको घर पुरिँदा परिवारका ५ जनाको मृत्यु भएको जानकारी आएको प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीले बताए। त्यस्तै ढकारी गाँउपालीकामा १ घर पुरिएर तीन जना घाइते भएको र एक जना पुरिएको जानकारीपछि खोजी कार्य जारी रहेको उनले जानकारी दिए । 

तुर्माखाद गाँउपालीकामा पनि ९ जना बेपत्ता भएको जानकारी आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अहिले पनि वर्षा निरन्तर भइरहेकाले उद्धारमा कठिन भइरहेको प्रजिअ मरासिनीले बताए ।

यता गृहमन्त्री बालकृष्ण खाणले बाढी र पहिरोमा परि घाइते भएकाहरु, प्रभावितको उद्धारका लागि तत्काल हेलिकोप्टर पठाउन गृह प्रशासनलाई निर्देशन दिएका छन् ।