विराटनगर । राष्ट्रिय सभा निर्वाचनको बुधबार (आज) भएको मतदानमा प्रदेश १ मा ९९ प्रतिशत मतदान भएको छ।
९२ जना प्रदेश सभा सदस्य रहेको प्रदेशमा ९१ जनाले मतदान गरेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ। स्थानीय तहका २ सय ७२ जना प्रमुख–उपप्रमुख मध्ये २ सय ७० जनाले मतदान गरेको प्रमुख निर्वाचन अधिकृत भरत लम्सालले जानकारी दिए।
विराटनगर महानगर उपप्रमुख इन्दिरा कार्की (नेपाली काँग्रेस) र झापा गौरीगञ्ज गाउँपालिका अध्यक्ष बावुराजा श्रेष्ठ (राप्रपा) मतदानमा उपस्थित भएनन् । उपप्रमुख कार्कीको काठमाडौंमा उपचार भइरहेको छ ।
त्यस्तै सरकारी छाप दस्तखत किर्ते मुद्दामा उच्च अदालत विराटनगरले दोषी ठहर गरपछि फरार रहेकी एमाले प्रदेश सांसद गुलेफुन खातुन उपस्थित भइनन् ।
अब केहीबेरमा गणना सुरु हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन कार्यालयले खुलातर्फ, महिलातर्फ र अल्पसंख्यक वा अपाङ्ग कोटाका लागि छुट्टाछुट्टै मतपत्र बनाएको छ । मतदान पनि सोही अनुसार भएको हो ।