पद खोजेर पार्टीमा आउन खोज्नेलाई प्रवेश दिन्न : रवि लामिछाने

न्युजलय १८ साउन २०७९, बुधबार ०३:०७ मा प्रकाशित

काठमाडौं । निर्वाचन आयोगमा राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गराएर देश दौडाहामा निस्किएका पार्टी अध्यक्ष रवि लामिछानेले पद खोजेर पार्टीमा आउन खोज्नेलाई आफूले प्रवेश नदिने बताएका छन् ।


आज कर्णाली प्रदेशस्तरीय भेलालाई सुर्खेतमा सम्बोधन गर्दै उनले पद खोजेर आउन चाहने जो कोहीलाई प्रवेश निषेध रहेको बताएका हुन् ।


उनले भने, ‘जो मान्छे यो पद पाए मात्र आउँछु भन्छ, त्यस्तालाई यो पार्टीको जीवन रहेसम्म र आफू यस पार्टीमा रहेसम्म आउन दिन्न ।’ मूलधारका पार्टी नेताहरू आफ्नो दलमा पद नपाएर स्वतन्त्र पार्टीमा आउन खोजेको बताउँदै उनले भने, ‘ती पार्टीमा बेथिति रहेको र आफूले सुधार्न नसकेको स्वीकार गर्दै आउँछन् भने त्यस्तालाई स्वागत गरिने छ ।’


कर्णालीको भाग्य फेर्न अब मत बदल्नुपर्ने उनको भनाइ छ । यसो नगरेमा फेरि अर्को पाँच वर्षसम्म यही अवस्था रहने लामिछानेले बताए ।