बेलबारीमा हात्तीको आक्रमणमा परेर एक जनाको मृत्यु

न्युजलय १८ मङ्सिर २०८०, सोमबार ०१:५३ मा प्रकाशित

विराटनगर । मोरङको बेलबारीमा हात्तीको आक्रमणमा परेर लेटाङ घर भएका कमल माझीको सोमबार(आज) बिहान मृत्यु भएको छ ।

बेलबारी नगरपालिका–१० भाउन्नेमा जङ्गली हात्तीको आक्रमणबाट ५३ वर्षीय कमल माझीको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । 

लेटाङ नगरपालिका–३ घर भएका माझीलाई साइकलमा यात्रा गरिरहेका बेला सिर्जना सामुदायिक वन क्षेत्रमा हात्तीले आक्रमण गरेको हो ।

बाटो हिँड्नेहरूले जङ्गलमा बिहान १०ः३० बजेतिर शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । माझी लेटाङस्थित घरबाट बेलबारीको लक्ष्मी मार्गतर्फ साइकलमा आउँदै गरेको बेला हात्तीको आक्रमणमा परेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार घटनास्थल वरपर हात्तीको आवतजावत नियमित भइरहेको पाइएको छ ।