इटहरी । इटहरी उपमहानगरपालिकामा ३० जना नगर प्रहरी थपिएका छन् । योसँगै नगर प्रहरीको संख्या ४५ पुगेको छ । सोमबारदेखि २ जना सई, चार जना हवल्दार र २४ जना जवानको तालिम सुरु भएको छ । डेढ महिनाको तालिमपछि उनीहरुलाई कार्यक्षेत्रमा खटाईने छ ।
तालिम उद्घाटन समारोहमा बोल्दै उपमहानगर प्रमुख हेमकर्ण पौडेलले नगर प्रहरी थपिँदा उपमहानगरको सुव्यवस्था मजबुत हुने बताए । सडक अतिक्रमण गरेर सडकमा राखेको निर्माण सामाग्रीदेखि बजार व्यवस्थापनसम्म नगर प्रहरी सक्रिय हुनेछन् ।
यस्तै महानगरपालिकाको सम्पत्तिको सुरक्षा र संरक्षण, उपमहानगरमा हुने विभिन्न सभा, समारोह, स्थानीय जात्रा पर्वको सुरक्षा व्यवस्थापन, पार्किङ स्थलको रेखदेख तथा व्यवस्थापन, सरसफाइसम्बन्धी मापदण्डको कार्यान्वयन, न्यायिक समितिले गरेका मिलापत्र तथा निर्णय कार्यान्वयन, सार्वजनिक जग्गा तथा सम्पत्तिको संरक्षण, विपद् व्यवस्थापन, छाडा पशु नियन्त्रण, अनधिकृत निर्माणमा रोक लगायतका जिम्मेवारी नगर प्रहरीलाई दिईने मेयर पौडेलको भनाई छ ।
मेयर पौडेलले इटहरीमा नगर प्रहरीको संख्या अझै कम भएको बताए ।
इटहरी उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत रामचरित्र मेहताका अनुसार इटहरीको बढ्दो जनसंख्याको कारण भिड व्यवस्थापन गर्न नगर प्रहरीको आवश्यकता रहेको बताइएको छ । नगर प्रहरीको लागि गाडी समेत खरिद गरिसकेको उपमहानगरले जनाएको छ ।
तालिम समारोह कार्यक्रममा बोल्दै इलाका प्रहरीका कार्यालय इटहरीका डिएसपी टेकबहादुर कार्कीले नगर प्रहरी थपिएसँगै इटहरी उपमहानगर क्षेत्रमा सहज हुने बताए ।