काठमाडौँ । प्रतिनिधिसभाको मंगलबार(आज)को बैठक सञ्चालन हुने भएको छ ।
सुन तस्करीका विषयमा छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन नहुँदासम्म संसद् सञ्चालन हुन नदिने अडानसहित अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मंगलबार भने बैठक सञ्चालन गर्न दिने जनाएको छ ।
बैठकमा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणका विषयमा सम्बोधन गर्ने भएका छन् । यसअघि छानबिन समिति नबनेसम्म संसद् सञ्चालन गर्न नदिने अडानमा रहेको एमाले आज गृहमन्त्रीको जवाफ सुन्न तयार भएको हो ।
संसद्मा अवरोध खुलाउने विषयमा मंगलबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहालले बालुवाटारमा छलफल गरेका थिए ।
छलफलपछि एमाले प्रमुख सचेतक महेश बर्तौलाले मंगलबार ३ बजेका लागि तोकिएको प्रतिनिधिसभाको बैठक सञ्चालन गर्न दिने बताए ।