इन्डोनेसियाको क्लबमा झडप र आगलागी हुँदा १९ जनाको मृत्यु

न्युजलय ११ माघ २०७८, मङ्गलबार ०९:१२ मा प्रकाशित

जकार्ता । इन्डोनेसियाको पपुवा प्रान्तको सोरोङस्थित डबल ओ नाइट क्लबमा दुई समूहबीच झगडा भएपछि आगलागी हुँदा १९ जनाको मृत्यु भएको छ।


पपुवा प्रहरीका प्रवक्ता आदम एरविन्डीले ज्यान गुमाउनेमा सोमबार क्लबमा झगडा गर्ने एक जना भएको मेट्रो टिभीलाई बताए। बाँकी १८ जनाको मृत्यु आगलागीमा परी भएको बताइएको छ।


झगडाले गर्दा आगो लगाइएको थियो वा दुर्घटनावश लागेको थियो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।


पुलिस अधिकारीहरूले स्थिति स्पष्ट गर्न दुबै समूहका प्रमुख व्यक्तिहरूलाई पनि सोधपुछ गरिरहेको एरविन्डीले जानकारी दिए।