सर्लाही । कविलासी नगरपालिका–८ अगर्वामा भाईले दाजुलाई खाना खान घरमा बोलाएर हत्या गरेका छन् । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतककै सहोदर भाइसहित दुई जनालाई पक्राउ गरेको छ ।
वर्ष २४ का अमरेन्द्र ठाकुरको घाँटी रेटेर विभत्स ढङ्गले हत्या गरिएको अवस्थामा यही असार ७ गते बिहान शव फेला परेको थियो। प्रहरीले अमरेन्द्रको हत्यामा संलग्न रहेको आरोपमा उनकै सहोदर भाइ अमरकान्त ठाकुर र सोही ठाउँका रुपेशकुमार चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
अमरकान्तले रुपेशसँग मिलेर दाई अमरेन्द्रको हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । असार ६ गते बेलुका उनीहरुबिच तरकारी ल्याउने विषयमा सामान्य विवाद भएपछि अमरेन्द्रको हत्या गरेका खुलेको हो।
राति करिब ८ बजे खानपिनको व्यवस्था छ, भनी अगर्वा चोकबाट पश्चिम सलेमपुर नहरतर्फ जाने कच्ची सडकको एकान्त ठाउँमा बोलाएर धारिलो हतियारले घाँटी रेटेर हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।