सुनसरी । भारतको बिहारका सिँचाइ मन्त्री सन्जयकुमार झा कोसी ब्यारेजको निरीक्षण गर्न सुनसरीमा आएका छन् । उनले सुनसरीमा रहेको कोसीको पूर्वी तटबन्ध अवलोकन गरेका छन् ।
कोसी नदी ओभरफ्लो भइ उदयपुरको बेलका नगरपालिका डुम्रीबोटेमा रहेको मानव बस्तीमा नै प्रवेश गरिरहँदा बिहारका मन्त्री झा नेपाल आएका हुन् । बिहारका सिँचाइ मन्त्रालय अन्तर्गत र कोसी योजना अन्तर्गतका कर्मचारीहरू उनको टोलीमा छन् ।
नेपालको पूर्वी पहाडी क्षेत्रमा केही दिनदेखि नै अविरल वर्षासँगै कोसीको बहाब बढ्दा सुनसरी, सप्तरी, उदयपुर लगायत जिल्लाका बासिन्दा प्रभावित भएका छन् ।
हरेक वर्ष कोसीमा आएको बाढीका कारण भारतको बिहारका बासिन्दाहरू पनि प्रभावित हुने गरेका छन् । नेपालमा भने पछिल्लो केही दिनयता कोसीको बहाब बढेपछि ब्यारेजमा रहेका ५६ मध्ये ४६ वटा गेट खुला गरिएको छ ।