जनता क्याम्पसले इटहरीमा पहिलो पटक उच्च शिक्षामा अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन गर्दै

न्युजलय १६ मङ्सिर २०८२, सोमबार ०४:२८ मा प्रकाशित

इटहरी । इटहरीस्थित जनता बहुमुखी क्याम्पसले आगामी पुष ५ र ६ गते पहिलो पटक इटहरीमा उच्च शिक्षामा नवीनता, अनुसन्धान र दिगोपना विषयमा अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन गर्ने भएको छ । 


सम्मेलनमा मानविकी, सामाजिक विज्ञान, शिक्षा, व्यवस्थापन र अंग्रेजी भाषा शिक्षणसम्बन्धी विषयहरूमा बहस, अनुसन्धान प्रस्तुती र विचार–विमर्श हुने जनाइएको छ।


सोमबार पत्रकार सम्मेलन गर्दै कलेजले यो कार्यक्रम इटहरीमात्र नभइ पुर्वी नेपालकै शिक्षा क्षेत्रको लागि विशिष्ट कार्यक्रम भएको जनाएको छ । कार्यक्रममा काठमाडौका साथै विभिन्न देशहरुबाटसमेत प्रोफेसर, डाक्टर तथा अनुसन्धाताहरु आउने जानकारी दिँदै ६० वटा कन्सेप्ट पेपरको सारांश प्राप्त भइसकेको जनाइएको छ ।


दुई दिनसम्म चल्ने सम्मेलनमा सहभागि हुनका लागि क्याम्पसले देश तथा विदेशका विश्वविद्यालय, अनुसन्धान संस्था र शैक्षिक सरोकारवालाहरुलाई आमन्त्रण गरेको छ। करिब ५०० जना सहभागी हुने अपेक्षा गरिएको छ । सम्मेलनलाई इटहरी उपमहानगरपालिकाले आर्थिक सहयोग गरेको र अन्य सहयोगका स्रोतहरुसमेत खोजि भइरहेको जनाएको छ । 


पत्रकार सम्मेलनमा बोल्दै इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले इटहरीमा जेन्जी आन्दोलनको तहसनहस गरेपछिको अवस्थामा यो कार्यक्रमले इटहरीको परिचय फेर्ने विश्वास व्यक्त गरे । इटहरीमा आन्दोलनका क्रममा धेरै आगलागी भएपछि इटहरीलाई बाहिरबाट हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउनका लागि पनि बौद्धिक र प्राज्ञिक कार्यक्रम आवश्यक रहेको बताए । 


जनता क्याम्पस व्यवस्थापन समिति अध्यक्ष विकास केसीले आफ्नो नेतृत्वमा बनेको व्यवस्थापन समितिले सकेसम्म सुधारका कामहरु गरिरहेको र सो क्रममा शैक्षिक सम्मेलन गर्ने निर्णय गरेको जानकारी दिए । यसले इटहरीको विकास र सकारात्मक छवि निर्माणमा सहयोग पुग्ने विश्वास गर्दै उनले शिक्षक तथा विद्यार्थीहरुको लागि अत्यन्त उपयोगी कार्यक्रम रहेको समेत बताए । 


जनता क्याम्पस २०४५ सालमा स्थापना गरिएको सामुदायिक क्याम्पस हो । सन् २०१८ मा क्याम्पसले विश्वविद्यालय अनुदान आयोग–नेपाल (यूजीसी) बाट क्यूएए प्रमाणपत्र पाएको छ ।