काठमाडौँ । क्रिकेट सन्दीप लामिछाने विरुद्धको बलात्कारको मुद्दामा काठमाडौं जिल्ला अदालतले पीडित बालिका र उनकी आमाको जन्ममिति एकीन गर्न आदेश दिएको छ।
जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको एकल इजलासले पीडित बालिकासँगै उनकी आमाको जन्ममिति एकीन गर्न आदेश दिएको जिल्ला सरकारी वकीलको कार्यालय, काठमाडौंले जनाएको छ ।
पीडित बालिकाको पक्षबाट पेश भएको कागजातमा बालिकाको जन्ममिति २०६२ जेठ उल्लेख छ। त्यस्तै, सन्दीप पक्षका कानून व्यवसायीले २०६१ जेठ भनेर अर्को कागज पेश गरेका छन्। यसमा एकीन गर्न अदालतले वडा कार्यालयलाई आदेश दिएको हो।
त्यस्तै, बसाइसराइ सम्बन्धी कागजमा पीडित बालिकाकी आमाको जन्ममिति पनि फरक देखिएको छ। त्यसमा बालिकाकी आमाको जन्मतिति २०५३ साल देखिएको छ। बसाइसराइको कागजमा आमा र बालिकाको उमेरमा १० वर्ष मात्रै फरक देखिएकाले एकीन गर्न आदेश आएको परिवारले बताए।
यो मुद्दामा आजदेखि निरन्तर सुनुवाइ गर्ने तय भएको थियो। तर, पीडित बालिकाको दुई वटा जन्ममिति देखिए पछि एकीन गर्न आदेश आएको छ।
सर्वोच्च अदालतले गत फागुन १५ गते यस मुद्दालाई ‘फास्ट ट्र्याक’मा टुंग्याउन आदेश दिएको थियो। तर, पेशी चढे पनि पटकपटक स्थगित हुँदै आएको छ।