प्रदेश १ मा १७ हजार बढी म्यादी परिचालन गरिने

न्युजलय २१ बैशाख २०७९, बुधबार ०२:१६ मा प्रकाशित

विराटनगर । आसन्न स्थानीय तह निर्वाचनका लागि प्रदेश १ मा १७ हजारभन्दा बढी म्यादी प्रहरी परिचालन गरिँदै छ। आगामी ३० गते हुने निर्वाचनका दिन मतदानस्थलको सुरक्षाका लागि नेपाल प्रहरीसँगै म्यादी परिचालन गरिने छ । 


१४ जिल्ला रहेको प्रदेश १ मा १ सय ३७ वटा स्थानीय तह छन्। प्रदेशमा १७ हजार ४ सय ४ जना म्यादी परिचालन गरिने प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए। 

 

उनका अनुसार निर्वाचनमा खटाइनेमध्ये ४ हजार ५ सय ३१ महिला र १२ हजार ८ सय ७३ जना पुरुष म्यादी छन्। सबैभन्दा धेरै (३ हजार १ सय २३ जना) मोरङमा र कम तेह्रथुममा (४ सय ४६ जना) म्यादी प्रहरी परिचालन गरिने राईले बताए। उनका अनुसार झापामा २ हजार ९ सय १६, सुनसरीमा २ हजार ६५, इलाममा १ हजार ३ सय ७, खोटाङमा १ हजार ८६, उदयपुरमा १ हजार ५, पाँचथरमा ९ सय ३, धनकुटामा ८ सय ५७, संखुवासभामा ८ सय ५१, सोलुखुम्बुमा ७ सय ९९, भोजपुरमा ७ सय ६०, ताप्लेजुङमा ६ सय ५३ र ओखलढुंगामा ६ सय ३३ जना म्यादी खटाइने छ। 


प्रदेश १ प्रहरी प्रमुख डीआईजी अरुणकुमार बीसीले निर्वाचनमा लक्षित गरेर भर्ना र तालिम सकिएकाले म्यादी प्रहरी परिचालनको अन्तिम तयारी भइरहेको जानकारी दिए। उनका अनुसार एउटा मतदान केन्द्रमा कम्तीमा १ जना महिलासहित ५ जना म्यादी प्रहरी परिचालन गरिने छ।