महागुरु फाल्गुनन्दको जन्मजयन्ती मनाइँदै

न्युजलय २५ कार्तिक २०७८, बिहिबार ११:३१ मा प्रकाशित

पाँचथर । किराँत धर्मगुरु फाल्गुनन्द लिङ्देनको १३७औँ जन्मजयन्ती विभिन्न कार्यक्रमका साथ बिहिबार (आज) मनाइँदै छ ।

महागुरु फाल्गुनन्दको जन्मजयन्तीका अवसरमा उनको जन्मभूमि इलाम, साधना तथा देहवसानस्थल पाँचथरसहित किराँती समुदायको बसोबास रहेका स्थानमा धुमधामका साथ मनाइँदै छ । 

जन्मजयन्तीका अवसरमा धार्मिक प्रवचन, माङहिममा पूजा अर्चना, फाल्गुनन्दका शालिक तथा प्रतिमामा माल्र्यापण, महागुरु फाल्गुनन्दले दिएका उपदेश तथा सत्यधर्म मुचुल्काको परिचर्चा, लिम्बू समुदायको सांस्कृतिक, धार्मिक, भाषिक पहिचानको जगेर्ना र सम्वद्र्धनलगायतका विषयमा छलफल तथा विमर्श हुने गरेका छन् । 

किराँत धर्म तथा साहित्य उत्थान सङ्घसहित विभिन्न सङ्घ संस्थाको आयोजनामा मूल कार्यक्रम आयोजना गर्ने गरिएको छ । यस वर्ष मोरङको केराबारीमा मुहिगुम अङसिमाङ महागुरु फाल्गुनन्द लिङदेन मिङ्सो माङहिमको उद्घाटन एवं महागुरु फाल्गुनन्दको पूर्णकदको सालिक अनावरण गर्ने कार्यक्रम रहेको किराँत धर्म तथा साहित्य उत्थान सङ्घले जनाएको छ । 

विसं १९४२ कात्तिक २५ गते हाल इलामको माङसेबुङ गाउँपालिका –२ पर्ने इभाङको चुक्चिनाम्वामा आमा हंशमति र बुबा जगनबाज लिम्बूको कोखबाट साहिला सन्तान उनको जन्म भएको थियो । 

फाल्गुनन्दलाई सरकारले २०६६ साल मङ्सिर १६ गते १६ औँ राष्ट्रिय विभूति घोषणा गरेको थियो । उनको स्मृतिमा २०५० सालमा सरकारबाट रु १५ को हुलाक टिकटसमेत प्रकाशित छ । उनको जन्मजयन्तीमा प्रदेश नं १ मा सार्वजनिक बिदा हुन थालेको छ । 

महागुरु फाल्गुनन्द किराँत धर्मका महान गुरु तथा समाज सुधारक हुन् । फाल्गुनन्दलाई किराँत भाषामा ‘मुहिगुम आङसिमाङ’ भनिन्छ । उनले नारी जातिलाई पुरुष समान अधिकार र सम्मान दिनुपर्ने सन्देशको प्रचार गरेर लैङ्गिक समानताको वकालत गरेको थियो ।