तेह्रथुम । छथर गाउँपालिकाले कोदोको रक्सी ब्राण्डिङ गर्ने भएको छ । घरेलु मदिरालाई ‘ब्यान्ड होइन ब्राण्ड’ बनाउन पहिलो पटक गाउँपालिकाले तयारी थालेको हो ।
कोदोको लोकल रक्सीको उत्पादन, स्तरीकरण, ब्राण्डिङ र बजारीकरणका लागि कानुन निर्माण भइरहेको छ । गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बुका अनुसार गाउँपालिकाले चालु आर्थिक वर्षको सातौं अधिवेशन तथा वार्षिक नीति कार्यक्रममै घरेलु मदिरा ‘कोदोको लोकल रक्सी’ ब्राण्डिङ गर्ने कार्यक्रम अघि सारेको छ ।
कानुनी अफ्ठ्याराहरु फुकाउने कार्यमा प्रदेश र केन्द्र सरकारसँग आफूले समन्वय गरीरहेको र त्यो सम्भव नभए पालिकाभित्र मात्रै विक्री वितरण गर्ने गरी पनि गाउँपालिकाले काम गरीरहेको अध्यक्ष लिम्बूको भनाइ छ ।
कोशी प्रदेश सरकारलेसमेत केही वर्ष पहिले घरेलु मदिरालाई ब्राण्डिङ, बजारीकरण र प्रवर्द्धनका लागि अध्ययन थालेको थियो ।