कोशीका मुखयमन्त्री कार्कीले आज विश्वासको मत लिने, सत्तारुढ गठबन्धन पनि समर्थनमा

न्युजलय ३१ असोज २०८०, बुधबार ०७:०२ मा प्रकाशित

विराटनगर । प्रदेश सरकार गठनको अन्तिम विकल्प, संविधानको धारा १६८ को उपधारा (५) अनुसार कोशी प्रदेशका मुख्यमन्त्री नियुक्त भएका केदार कार्कीले विश्वासको मत लिने भएको छ ।


आइतबार पद तथा गोपनीयताको शपथ लिएका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि बुधबार (आज) दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको हो । 


नेपाली कांग्रेसबाट विद्रोह गरेर कांग्रेसका ८ र नेकपा एमालेका ३९ जना सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्कीलाई सत्तारुढ गठबन्धनको पनि समर्थन रहेको छ । 


पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ‘चाहना विपरीत’ मुख्यमन्त्री कार्कीले एमालेलाई सरकारमा सहभागी गराइसकेका छन् । एमालेबाट संसदीय दलका उपनेता रामबहादुर मगर र कांग्रेसमा विद्रोह गरेर आफूलाई समर्थन गर्ने शमशेर राईलाई कार्कीले विना विभागीय मन्त्री नियुक्त गरेका छन् । 


कार्कीलाई सत्तारुढ गठबन्धनका कांग्रेससहित माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले पनि विश्वासको मत दिने देखिएको छ । एमाले विश्वासको मत दिने पक्का नै छ । राप्रपाले भने विश्वासको मत दिने वा नदिने विषयमा कुनै निर्णय गरेको छैन । यद्यपि कार्कीको नेतृत्वमा सरकार गठन हुँदा राप्रपाले तटस्थ बस्ने निर्णय लिएको थियो ।