काठमाण्डौ । गम्भीर आर्थिक संकटको सामना गरिरहेको श्रीलङ्कामा बिहिबार राती भारी विरोध प्रदर्शन र झडप भएको छ ।
जसका कारण राजधानी कोलोम्बोमा प्रहरी तैनाथ गरिएको छ । कोलोम्बोमा राती ५ हजारभन्दा बढी व्यक्ति सडकमा उत्रिए र उनीहरुले राष्ट्रपति गोटाबाया राजपक्षेको घरतर्फ जुलुस निकालेका थिए ।
राष्ट्रपतिको घरमा चढ्ने प्रयास गरेका भीडसँग प्रहरीको झडप भएको थियो । यतिबेला ४५ जनालाई गिरफ्तार समेत गरिएको छ । घटनामा एक व्यक्ति गम्भीर रुपमा घाइते भएका छन् ।
ऋण बोझमा डुबेको २.२ करोड जनसंख्या भएको यो देश गम्भीर रुपमा आर्थिक संकटको सामना गरिरहेको छ । खाद्य सामग्रीको बढ्दो मूल्य र यसको कमीका कारण अवस्था नाजुक भएको छ ।
बिहिबार राती हज्जारौँ मानिसले राजपक्षेको राजीनामाको माग गर्दै उनको घरतर्फ जुलुस निकाले जसमा थुप्रै अज्ञात सोसल मिडियामा अभियन्ता पनि समावेश थिए ।