विराटनगर । प्रदेश १ सरकारले जिल्ला अस्पतालमा काम गर्ने विशेषज्ञ चिकित्सकहरुलाई मासिक ६० हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्म प्रोत्साहन भत्ता दिने भएको छ ।
११ वटा पहाडी जिल्लालाई लक्षित गर्दै प्रदेश स्वास्थ्य मन्त्रालयले यस्तो निर्णय गरेको हो ।
उक्त कार्यक्रमका लागि मन्त्रालयले ‘विज्ञेषज्ञ चिकित्सक प्रोत्साहन भत्ता सम्बन्धी कार्यविधि २०७९’ तयार पारेको छ । कार्यविधिअनुसार प्रदेश सरकारले ११ वटा जिल्ला अस्पतालमा काम गर्ने आठदेखि ११ औँ तहका विशेषज्ञ चिकित्सकलाई अधिकतम १ लाख ५० हजारसम्म प्रोत्साहन भत्ता उपलब्ध गराइनेछ । यो कार्यविधि २०७९ भदौदेखि चालु अर्थिक वर्षको असार मसान्तसम्म लागु हुने जनाइएको छ ।
कार्यविधिअनुसार प्रोत्साहन भत्ता कार्यक्रम ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, भोजपुर, तेह्रथुम, धनकुटा र उदयपुरमा लागु हुनेछ ।
उल्लेखित जिल्लामध्ये संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, भोजपुर, ताप्लेजुङ, तेह्रथुम र पाँचथर जिल्लाका अस्पतालमा काम गर्ने ११ औँ तहका चिकित्सकलाई मासिक अधिकतम १ लाख ५० हजार तथा नवौँ र दशौँ तहका चिकित्सकलाई अधिकतम १ लाख ३५ हजार तथा आठौँ तहका चिकित्सकलाई अधिकतम १ लाख २० हजार रुपैयाँ प्रोत्साहन भत्ता उपलब्ध गराइने छ ।
त्यस्तै, धनकुटा, उदयपुर र इलाम जिल्ला अस्पतालमा खटिने ११ औँ तहका चिकित्सकलाई ७५ हजार, नवौँ र दशौँ तहका चिकित्सकलाई ६८ हजार र आठौँ तहको चिकित्सकलाई ६० हजार रुपैयाँ मासिक प्रोत्साहन भत्ता उपलब्ध गराइने कार्यविधिमा उल्लेख छ ।
प्रदेश स्वास्थ्य मन्त्रालयले तयार गरेको कार्यविधिअनुसार प्रदेश करार र छात्रवृत्ति करारमा कार्यरत चिकित्सकले पनि प्रोत्साहन भत्ता पाउनेछन् ।