राति ८ बजेपछि उडान गर्न सकिँदैन : वायुसेवा संचालक संघ

न्युजलय १६ बैशाख २०७९, शुक्रबार ०२:१० मा प्रकाशित

काठमाडौँ । वायुसेवा संचालक संघले राति ८ बजेपछि आन्तरिक उडान हुन नसक्ने बताएको छ । यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानतर्फ समयावधि बढाएर १८ घण्टा पुऱ्याउन भन्दै वायुसेवा कम्पनीहरुलाई पत्र पठाएको थियो । संघका सदस्य वायुसेवा कम्पनीहरु बुद्ध, यती, श्री, सौर्य र गुणा एयरलाइन्सलाई राति ८ बजेपछि पनि उडानको व्यवस्था मिलाउन प्राधिकरणले पत्र पठाएको थियो ।

 

तर प्राविधिक तयारी नभएकाले ८ बजेपछि उडानहरु गर्न सक्ने अवस्था नरहेको संघले जनाएको छ । 


उक्त अनुसारको उडान अनुमति प्राप्त नभएमा संघका सदस्य वायुसेवा कम्पनीहरुले सम्पूर्ण उडान स्थगन गर्ने चेतावनी दिएका छन् । विमानस्थलको एयर ट्राफिक जामलाई ध्यानमा राख्दै तराईका ६ क्षेत्रीय विमानस्थलमा १८ घण्टा उडान गर्न प्राधिकरणले निर्देशन दिएको थियो । प्राधिकरणले भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थललाई बिहान ६ देखि राति १२ बजेसम्म सञ्चालनमा ल्याउने निर्णय गरेको थियो ।


अन्तर्राष्ट्रिय उडानमा पनि आगामी जेठ २ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा २४सै घण्टा उडान गर्ने प्राधिकरणले तयारी गरेको छ ।