काठमाडौं । आज देशका चारवटा प्रदेशमा वर्षाको सम्भावना रहेको छ।
स्थानीय वायु तथा भारतको उत्तर प्रदेश र विहार आसपास रहेको न्यून चापीय रेखाको प्रभावको कारण आज प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका मौसमविद् हिरा भट्टराईका अनुसार अहिले पूर्वी तराईका केही स्थानमा वर्षा भइरहेको छ।
दिउँसो प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ भने बाँकी प्रदेशका पहाडी भूभागको थोरै स्थानमा मेघ गर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।
मौसमविद्का अनुसार यस वर्ष नेपालमा मनसुन केही छिटो सुरु हुने संकेत देखिएको छ । सामान्यतया नेपालमा जुन १० (२७ जेठ) देखि सेप्टेम्बर २३ (७ असोज) सम्मको अवधिलाई मनसुन अवधि मानिन्छ।
तर यस वर्ष मनसुन २७ जेठ अघि नै सुरु हुने संकेत देखिएको उनले बताए। भारतको केरलामा मनसुन सुरु भएको १० दिनमा सामान्यतया नेपालमा मनसुन भित्रिने गरेको छ।