काठमाण्डौ । विवेकशील साझा पार्टीका १२ जना नेताले एकैपटक पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
संयुक्त वक्तव्य जारी गर्दै उनीहरूले पार्टी परित्यागको घोषणा गरेका हुन् । अध्यक्ष रवीन्द्र मिश्रले एकलौटी गरेकोले आफूहरूले पार्टी परित्याग गर्नुपरेको भन्दै उनीहरूले आजैका दिनदेखि पार्टीको पदीय जिम्मेवारी र सामान्य सदस्यसमेत त्याग गरेको घोषणा गरेका हुन् ।
पार्टी परित्याग गर्नेमा नेताहरू दीपक पौडेल, प्रकाश आचार्य, अशोक खड्का लगायत छन् । उनीहरूले वैकल्पिक राजनीतिलाई विवेकशील साझा पार्टीको वर्तमान नेतृत्वले मृत्युशैय्यामा पुर्याएको आरोप पनि लगाएका छन् ।
अध्यक्ष मिश्रको एकलौटी निर्णयहरू र लाइनविपरीतका बहसहरू देखिसकेपछि उनीबाट वैकल्पिक राजनीतिको यात्रा सम्भव नभएको ठहर आफूहरूले गरेको पनि उनीहरूले बताएका छन् ।
नेतृत्वबाट पार्टीभित्रको समस्या समाधान गर्नेभन्दा पनि पार्टीलाई कसरी हुन्छ टुक्राउने भन्ने खालको अस्वाभाविक हर्कतहरू हुन थालेपछि हामीले अब उपरान्त आफ्नो समय र उर्जा विवेकशील साझा पार्टीको लागि खर्च गर्नु बर्बादीतर्फ होमिनु हो भन्ने ठान्यौँ र, । आजैका दिनदेखि विवेकशील साझा पार्टीको पदीय जिम्मेवारी र सामान्य सदस्य समेत त्याग गरेको घोषणा गरेका छौँ’ वक्तव्यमा भनिएको छ ।