खोटाङमा एकल पुरुषहरुलाई मासिक भत्ता

न्युजलय २३ जेठ २०८०, मङ्गलबार ०६:५३ मा प्रकाशित

 खोटाङ । खोटाङको रावा बेसी गाउँपालिकाले एकल पुरुषहरुलाई विधुर भत्ता दिन थालेको छ । श्रीमतीको मृत्यु भएका ४५ वर्ष माथिका एकल पुरुषहरुलाई पालिकाले मासिक एक हजार भत्ता दिन थालेको हो ।  

स्थानीय तहको दोस्रो निर्वाचन पश्चात पहिलो कार्यापालिकाको बैठकलले विधुर भत्ता दिने निर्णय पारित गरेको थियो । सोही अनुसार २०७९ साउन १ गतेदेखि लागु हुने गरी गाउँपालिकाले कार्यविधि निर्माण गरेर भत्ता प्रदान गरेको छ । 

साउन १ गते देखिको एकमुस्टमा जेठ २२ गते (सोमबार) विधुर भत्ता प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । ६ वडा रहेको पालिकामा पहिलो चरणमा २४ जनाले विधुर भत्ता पाएका छन् । 

रावा बेसी गाउँपालिकाको विधुर भत्ता कार्यविधि २०७९ अनुसार श्रीमतीको मृत्यु पश्चात विवाह नगरी बसेका ४५ वर्ष माथिका पुरुषहरुले मासिक १ हजार भत्ता पाउने छन्। विधुर भत्ताका लागि नेपाल सरकारको सेवा सुविधा नलिएको, गैर सरकारी निकायबाट तलब, पेन्सन तथा निवृत्त भरण वा सामाजिक सुरक्षा भत्ता नलिएको हुनुपर्ने छ । 

लाभग्राहीको खातामा ३÷३ महिनामा भत्ता रकम जम्मा हुनेछ ।