मकवानपुर । चिट लुकाएको आशंकामा युवतीको भित्री कपडासमेत खोल्न लगाएपछि आक्रोशित विद्यार्थीहरुले हेटौंडा क्याम्पस तोडफोड गरेका छन्।
बीएड दोस्रो वर्षको परीक्षा दिन गएका ४ जना छात्रालाई मंगलबार हेटौंडा क्याम्पसमा खटिएकी महिला कर्मचारीले भित्री वस्त्र समेत खोल्न लगाएकी थिइन् । विद्यार्थीमाथि दुर्व्यवहार गर्ने कर्मचारीलाई कारबाही गर्नुपर्ने मागसहित विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् ।
विद्यार्थीले गरेको ढुंगा प्रहारबाट क्याम्पसको सिसा फुटेको छ भने अन्य क्षति भएको छ ।
‘महिनावारी भएका विद्यार्थीलाई समेत चिट ल्याएको भन्दै अन्डरवेयरसम्म खोल्न लगाएको विद्यार्थीले गुनासो गरेका थिए । जिल्लामा कृयाशील विद्यार्थी संगठनले घटनाको सत्यतथ्य छानविनसहित दोषीलाई कारबाहीको माग गरेका छन्। क्याम्पस प्रशासनलेसमेत सम्बन्धित पक्षसँग आवश्यक छलफल भैरहेको बताउँदै दोषी ठहरिए कारबाहीको दायरामा ल्याउने जनाइएको छ ।