बीबीसी । श्रीलंकाले इरानबाट विगतमा तेल आयात गर्दा लागेको ऋण चियाले तिर्ने योजना बनाएको श्रीलंकाली सरकारका एक मन्त्रीले बताएका छन् । रमेश पाथिरानाले उनको देश (श्रीलंका)ले प्रत्येक महिना ५० लाख डलर मूल्यको चिया इरानमा पठाएर २५ करोड १० लाख डलर ऋण तिर्ने आशा गरेको बताए ।
श्रीलंकाले ठूलो ऋण र विदेशी मुद्रा संकटको सामना गरिरहेको छ । यसलाई कोरोना भाइरस महामारीको समयमा पर्यटक आम्दानीमा भएको नोक्सानीले अझ खराब बनाएको छ ।
श्रीलंकाको चिया बोर्डका एक सदस्यले वैदेशिक ऋण तिर्न पहिलो पटक चिया साटासाट गरेको बताए । पाथिराले चिया मानवीय आधारमा खाद्य वस्तुको रूपमा वर्गीकृत गरिएकाले भुक्तानीको यो तरिकाले संयुक्त राष्ट्रसंघ या अमेरिकाको प्रतिबन्धहरू उल्लङ्घन नगर्ने बताए । उनले कालो सूचीमा परेका कुनै पनि इरानी बैंकहरू यसमा संलग्न नहुने पनि बताए ।
उनले रोयटर्सलाई भने, “हामीले इरानलाई विगत चार वर्षदेखि रहेको तेल खरिदको रकम तिर्न प्रत्येक महिना ५० लाख डलर बराबरको चिया पठाउने आशा राखेका छौँ ।”
प्लान्टेसन मिनिस्ट्रि (वृक्षारोपण मन्त्रालय)ले “सिफारिस गरिएको योजनाले श्रीलंकालाई अति आवश्यक विदेशी मुद्रा बचाउनेछ किनकी सिलोन चिया बेचेर श्रीलंकाली रुपैयाँमा मिलाइनेछ ।”
निर्यातकर्तालाई फाइदा नहुने
तर, श्रीलंकाका सबै प्रमुख प्लान्टेसन कम्पनीहरू समावेश प्लान्टर्स एसोसिएसनका एक जना प्रवक्ताले लेनदेनको यो तरिका सन्तोषजनक नभएको बताए । उनले यसलाई सरकारद्वारा ल्याइएको ‘(स्टिकिङ) प्लास्टर सोलुसन’ भनेका छन् ।
“स्वतन्त्र बजारलाई छल्दै र हामीलाई कुनै वास्तविक मूल्य प्रदान नगरी रुपैयाँमा भुक्तानी गरिने भएकाले यसले निर्यातकर्तालाई फाइदा पुर्याउँदैन,” रोशन राजादुराईले भने ।
श्रीलंकामाथि ऋणको भारी
श्रीलंकाले ज्यानुअरीमा ५० करोड डरल सार्वभौम ऋण चुक्ताबाट सुरु गरी अर्को वर्षसम्म चार अर्ब ५० करोड डरल विदेशी ऋण तिर्नुपर्ने बताइएको छ ।
यद्यपि, केन्द्रीय बैंकको पछिल्लो तथ्याङ्क अनुसार नोभेम्बरको अन्त्यमा देशको विदेशी सञ्चिति एक अर्ब ६० करोड डलरमा झरेको छ । केन्द्रीय बैंकका गभर्नर निभार्ड काब्रालले यस महिनाको सुरुमा सन् २०२२ मा आउने सार्वभौम ऋण निर्बाध रूपमा तिर्न सक्षम हुनेमा श्रीलंका विश्वस्त रहेको बताएका थिए ।
श्रीलंकाको चिया उत्पादन
श्रीलंकाले वार्षिक करिब ३४ करोड किलोग्राम चिया उत्पादन गर्छ । गत वर्ष सन् २०२० मा श्रीलंकाले २६ करोड ५५ लाख किलोग्राम चिया निर्यात गरेर एक अर्ब २४ करोड डलर कमाएको थियो । श्रीलंकाको लगभग पाँच प्रतिशत जनसंख्या चिया बगान र चिया प्रसोधन सम्बन्धी अर्बौं डलरको कारखानामा काम गर्छन् ।