आदिवासी एक्यवद्धता सभा इटहरीमा भूकम्प पीडितका लागि एक लाख संकलन

न्युजलय २० कार्तिक २०८०, सोमबार ०७:०७ मा प्रकाशित

इटहरी । पहिचानको आधारमा प्रदेशको पुनः नामाङ्कन गर्न माग गर्दै विभिन्न आदिवासी संघ, संगठनको एक्यवद्धता सभामा भूकम्प पीडितका लागि आर्थिक सहयोग संकलन गरिएको छ । 


शनिबार इटहरीमा आयोजित सभामा शुक्रबार राति पश्चिम नेपाल जाजरकोट र रुकुममा गएको भूकम्पबाट प्रभावितलाई आर्थिक सहयोग संकलन गरिएको हो । 


सभ्यता, ईतिहास र पहिचानको आधारमा प्रदेशको नाम राख्न माग गर्दै चलिरहेको कोशी नाम विरुद्धको आन्दोलनमा विभिन्न आदिवासी संघ संस्थाहरूको ऐक्यबद्धता जनाउँदै सभाको आयोनजना गरिएको थियो । उक्त सभामा राखिएको भूकम्प पीडितका लागि आर्थिक सहयोग पेटिकामा उपस्थित व्यक्तिहरुबाट ४६ हजार ९ सय ५३ संकलन गरिएको हो ।

नेपाल आदिवासी जनजाति महासंघ अध्यक्ष ग्याल्जे लामा शेर्पाले उक्त संकलित रकममा नपुग थप गरी जम्मा एक लाख प्रदान गरिने नेपाल मगर मगर सङ्घ सह अध्यक्ष गङ्गा बहादुर थापा मगरले जानकारी दिए ।

उक्त आर्थिक सहयोग नेपाल मगर संघ अध्यक्ष ज्ञानेन्द्र पुन मगर मार्फत सम्बन्धित क्षेत्रमा प्रदान गरिने आयोजकले जनाएको छ । 


विभिन्न आदिवासी जनजाति संघ, संगठनहरुले जातीय पहिरनमा झाँकी सहित इटहरी चौक परिक्रमा गरेको हो । सभामा नेपाल आदिवासी जनजाति महासंघ सुनसरी अध्यक्ष राम माण्डुपा राईले स्वागत मन्तव्य व्यक्त गरेका  थिए । 


संयुक्त एक्यवद्धता सभाले प्रदेश नं. १ लाई गरिएको कोशी प्रदेश नामाङ्कन खारेज, एतिहासिक सभ्यता सहित पहिचानको आधारमा सबै प्रदेशको नामाकरण, संविधान बमोजिम स्वायत्त क्षेत्र, विशेष क्षेत्र र संरक्षित क्षेत्र कायम, थारु लगायत आदिवासी जनजातिमाथी लगाइएको झुठो मुद्दा खारेज, संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र लोकतन्त्रमाथिको प्रहार बन्द र आदिवासी जनजातिमाथी गरिने हेपाहा अभिव्यक्ति तथा सबै खाले विभेदको अन्त गर्नु पर्ने साझा मुद्दाको रुपमा अगाडि सारेको हो । 


संयुुक्त ऐक्यबद्धता सभाका प्रमुख वक्ता नेपाल तामाङ घेदुङ अध्यक्ष मोहन गोले तामाङ रहेका थिए भने नेपाल आदिवासी जनजाति महासंघ अध्यक्ष ग्याल्जे लामा शेर्पा विशिष्ट वक्ताको रुपमा रहेका थिए । 


त्यस्तै किरात राई यायोक्खा केन्द्रीय उपाध्यक्ष तिलक याम्फू, किरात याक्थुङ चुम्लुङ अध्यक्ष प्रेम येक्तेन, ज्ञानेन्द्र पुन मगरःअध्यक्ष, नेपाल मगर संघ, उमेश स्थापितः केन्द्रिय उपाध्यक्ष, नेवा देय दबू, धनमान गुरुङः केन्द्रिय उपाध्यक्ष, तमु ह्युल छोज धि, सभा सुनुवारः महासचिव, आदिवासी जनजाति महिला महासंघ, अमृत सुनुवारः केन्द्रीय अध्यक्ष, सुनुवार सेवा समाज, लाक्पा शेर्पाः केन्द्रीय महासचिव, नेपाल शेर्पा सङ्घ लगायतले संयुक्त एक्यवद्धता सभालाई सम्बोधन गरेका हुन् ।