ग्लोबल पिस इन्डेक्सः नेपालमा अशान्ति बढ्यो

न्युजलय १९ असार २०८०, मङ्गलबार ०६:११ मा प्रकाशित

काठमाडौं। नेपालमा अशान्ति बढेको विश्वव्यापी सर्वेक्षणले देखाएको छ। द इन्स्टिच्युट फर इकोनोमिक्स एन्ड पिस (आईईपी) ले जारी गरेको ‘ग्लोबल पिस इन्डेक्स’ को सूचीमा नेपाल अघिल्लो वर्षभन्दा ६ स्थान तल झरेको छ।

गत वर्ष नेपाल यो सूचीमा ७३ औं स्थानमा थियो। तर, यो वर्ष नेपाल यो सूचीमा तल झरेर ७९ औं स्थानमा पुगेको छ । यसको अर्थ नेपालमा गत वर्षको तुलनामा अशान्ति बढेको छ। नेपालका छिमेकीहरुमा भुटान नेपालभन्दा धेरै अगाडि छ। यसबाहेक अन्य नेपालका नजिकका देशहरु यो सूचीमा नेपालभन्दा पछाडि छन्।

यो सूचीअनुसार अफगानिस्तान लगातार पाँचौं वर्ष विश्वको सबैभन्दा अशान्त राष्ट्र भएको छ। अफगानिस्तान विश्वको सबैभन्दा अशान्त देशको सूचीमा पहिलो स्थानमा छ। अफगानिस्तानपछि यमन, सिरिया, रुस र दक्षिण सुडान सबैभन्दा समस्याग्रस्त मुलुक मानिन्छन्।

आईईपी प्रतिवेदनका अनुसार तालिबान शासित अफगानिस्तानका नागरिकहरू अहिले आफूलाई पहिलेभन्दा बढी सुरक्षित ठान्छन्। अफगानिस्तानका नागरिकहरूको आपराधिकताको सन्दर्भमा थोरै सुधार भएको छ। प्रतिवेदनका अनुसार यहाँ एक्लै हिँड्न असुरक्षित महसुस गर्नेको संख्या ८४ प्रतिशतबाट घटेर ७७ प्रतिशत पुगेको छ।

२००८ देखि आइसल्याण्ड विश्व शान्ति सूचकांकमा पहिलो नम्बरमा रहेको छ। अर्थात् गत वर्ष पनि आइसल्याण्ड विश्वको सबैभन्दा शान्त राष्ट्र नै रह्यो । यो सूचीमा न्युजिल्यान्ड दोस्रो नम्बरमा छ। जबकि आयरल्याण्ड तेस्रो र डेनमार्क चौथो नम्बरमा छ।