काठमाण्डौ । राम्रो काम गर्न नसकेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले चैत १५ गतेभित्रै अर्थमन्त्री फेर्ने तयारी गरेका छन् । उनीसहित केही मन्त्रीहरु परिवर्तन हुनेछन् ।
कार्यसम्पादनमा कमजोर देखिएका केही मन्त्रीहरु हेरफेर र रिक्त रहेका मन्त्रालयमा समेत नयाँ नियुक्ति गर्ने गरी प्रम देउवाले मन्त्रीपरिषद पुनर्गठनको तयारी गरेका हुन् । यो क्रममा अर्थतन्त्र नबुझेका अर्थमन्त्री जनार्दन शर्मालाई विदा दिने प्रवल संभावना रहेको छ ।
प्रधानमन्त्रीनिकट उच्च स्रोतकाअनुसार अर्थमन्त्रीको रुपमा शर्मा आएपछि देशको अर्थतन्त्र झनै डामाडोल बनेको र उनले अर्थतन्त्र नबुझ्दा तथा उनको एकाङ्की कार्यशैलीका कारण अवस्था बिग्रिएकोमा देउवाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग खुलेरै असन्तुष्टि व्यक्त गरिसकेका छन् ।
कांग्रेसले हाँकिरहेको परराष्ट्रमन्त्रालय माओवादीलाई दिएरै भए पनि अर्थतन्त्र बुझेको व्यक्तिलाई अर्थमन्त्री बनाउनुपर्ने लविङ दलमा समेत तीव्र बनिरहेको छ ।
यस्तै, नेकपा एसबाट मन्त्री बनेकाहरु सबैलाई फिर्ता बोलाइनेछ । सो दलभित्र आलोपालो मन्त्री हुने सहमति भएका कारण अहिले मन्त्री बनेका सबै फिर्ता बोलाएर अवसर नपाएकाहरुलाई नियुक्त गरिनेछ ।