नयाँ दिल्लीमा कोरोना जन्य प्रतिबन्ध हटाइयो

न्युजलय १३ फाल्गुण २०७८, शुक्रबार ०८:०४ मा प्रकाशित

काठमाडौं । भारतको दिल्ली सरकारले शुक्रबार कोभिड–१९ सँग सम्बन्धित सबै नियन्त्रणका लागि अपनाइएका प्रायःप्रतिबन्धहरूको अन्त्य गर्ने घोषणा गरेको छ ।

 

कोभिड–१९ सङ्क्रमण दरमा कमी आएपछि दिल्ली प्रकोप व्यवस्थापन प्राधिकरण (डीडीएमए) ले उक्त निर्णय लिएको हो ।

 

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सामाजिक सञ्जालमार्फत् कोभिड नियन्त्रणका लागि सामाजिक दूरी कायमलगायतका प्रायः सबै प्रतिबन्धलाई हटाइएको बताए।


अप्रिल १ देखि दिल्लीमा सबै विद्यालयहरूले विद्यालयमा भौतिकरूपमा उपस्थित भएर अध्ययन गर्नसक्ने उनले बताए । मास्क नलगाएकोमा जरिवाना गर्ने निर्णयलाई पनि बिस्तारै हटाउने तयारी गरेको बताइएको छ । 


दिल्लीमा रातिको निषेधाज्ञा सोमबारबाट अन्त्य हुने बताइएको छ । राती घर जाने समय बितेपछि पसल, रेस्टुराँ र व्यापारिक प्रतिष्ठानहरू राती अबेरसम्म खुला रहन सक्नेछन् । 


कोभिडजन्य सङ्क्रमणमा कमीपछि भारतको संघीय सरकारले राज्यहरूलाई सामाजिक, खेलकुद, मनोरञ्जन, शैक्षिक र धार्मिक कार्यक्रमका लागि कोभिड–१९ नियन्त्रणसम्बन्धी नियमलाई अन्त्य गर्ने विचार गर्न आग्रह गरेको थियो । साथै उनीहरूको क्षेत्रमा स्थिति अनुसार रातको निषेधाज्ञा घन्टा पनि विचार गर्न आग्रह गरेको थियो ।  


बिहीबार दिल्लीमा ५५६ जना नयाँ कोभिड–१९ सङ्क्रमित भेटिएको रत्यससँग सम्बन्धित छ जनाको मृत्यु भएको थियो । 


संघीय स्वास्थ्य मन्त्रालयले शुक्रबार बिहान सार्वजनिक तथ्याङ्कमा देशभर पछिल्लो २४ घण्टामा १३ हजार १६६ नयाँ सङ्क्रमित भेटिएको र ३०२ सङ्क्रमितको मृत्यु भएको जनाएको छ ।