काठमाडौँ । दक्षिण भारतको मद्रास उच्च अदालतले कार्यालय समयमा कार्यालय परिसरभित्र मोबाइल फोन र क्यामेराको प्रयोगमा प्रतिबन्ध लगाउन तमिल नाडु राज्य सरकारलाई निर्देशन दिएको छ ।
न्यायाधीश एसएम सुब्रमण्यमले कार्यालभित्र मोबाइल फोन प्रयोग गर्नु र भिडियो खिच्नु अनुचित भएको टिप्पणी गरेका छन् । उनका अनुसार सरकारी विभागहरूमा कार्यरत अधिकारीहरूलाई व्यक्तिगत प्रयोजनका लागि कार्यालयभित्र मोबाइल फोन चलाउन दिइनु हुँदैन । अत्यावश्यक परेका बेला वरिष्ठहरूबाट अनुमती लिएर मात्रै फोन गर्ने वा उठाउने गर्नुपर्छ ।
न्यायाधीश सुब्रमण्यमको रायमा कर्मचारीले कार्यालय प्रवेश गरेपछि मोबाइल फोन कि त स्विच्ड अफ गर्नुपर्छ वा भाइब्रेसन/साइलेन्ट मोडमा राख्नुपर्छ ता कि छेउका कर्मचारी वा सेवाग्राहीलाई कुनै डिस्टर्ब नहोस् । यसलाई उनले सरकारी कार्यालहरूमा पालना गरिनुपर्ने सामान्य अनुसाशानका रूपमा अथ्र्याएका छन् ।
सरकारी कार्यालयमा मोबाइल फोनको प्रयोगसम्बन्धी आवश्यक कार्यविधि बनाइनुपर्ने र त्यो पालना नगरे अनुशासन तोडेको मानिने न्यायाधीशले बताएका छन् ।