हतियार खरिदबाट पछि हट्यो सरकार

न्युजलय २ साउन २०७९, सोमबार ०६:४९ मा प्रकाशित

काठमाडौ । नेपाल प्रहरीका लागि हतियार खरिद गर्ने निर्णयबाट सरकार पछि हटेको छ। आर्थिक मन्दीको कारण देखाएपनि पछिल्लो समय बाहिरिएको कमिसन काण्ड प्रमुख कारक रहेको बताइएको छ । 

गृह मन्त्रालयले तत्काल हतियार खरिदको प्रक्रिया अघि नबढाउन नेपाल प्रहरीलाई निर्देशन दिने भएको छ। अर्थ मन्त्रालयले पनि हतियार खरिदका लागि दिन भनेको रकम रोकेको छ।

सरकारले ८४ करोडको हतियार खरिद गर्न प्रक्रिया अघि बढाएको थियो । गृह मन्त्रालयले हतियार खरिदमा चासो दिए पनि तत्काल हतियारभन्दा अन्य पूर्वाधारमै जोड दिने भएको छ ।  

अर्थ मन्त्रालय स्रोतका अनुसार गत आर्थिक वर्षको अन्तिममा हतियार खरिदका लागि गरिएको रकमान्तर रोकिएको छ। तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले आफू मन्त्रालयबाट बाहिरिँदै गर्दा हतियार किन्न रकमान्तर गरिदिएका थिए । १ अर्ब ३५ करोडको हतियार खरिद गर्ने भए पनि पहिलो चरणमा ८४ करोड रकमान्तर गरिएको थियो ।

सरकारले इटालीको बेर्रेटा कम्पनीले उत्पादन गरेका १ हजार १ सय ५० थान सटगन, हजार थान पेस्तोल, २५ हजार थान ग्यास सेलसहित गोलीगट्ठा किन्ने प्रक्रिया एजेन्टमार्फत अघि बढाएको थियो। तर कमिसनको अडियो सार्वजनिक भएसँगै र महँगोमा हतियार किन्न लागेको उजागर भएसँगै सरकार पछि हटेको हो।