नक्कली पिसिआर रिपोर्ट बनाएर बेच्ने चारजना पक्राउ

न्युजलय १९ माघ २०७८, बुधबार ०७:३४ मा प्रकाशित

काठमाण्डौ । रकम लिएर नक्कली पिसिआर रिपोर्ट बनाएर बेचेको आरोपमा महानगरीय अपराध महाशाखाले चारजनालाई पक्राउ गरेको छ । 

भक्तपुरको नागरिक कम्युनिटी अस्पतालको परिचयपत्र भएका रोशनकुमार छिट्टान, सोही अस्पतालका ल्याब म्यानेजर प्रसन्नकुमार झा, काठमाडौंको तिनकुनेमा रहेको कान्तिपुर अस्पतालको कर्मचारी परिचयपत्र भएका नागेन्द्रकुमार यादव र सोही अस्पतालको ल्याबका कर्मचारी माधव मैनाली पक्राउ परेका हुन् । 

उनीहरूलाई विशेष सूचनाका आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ । कोरोना संक्रमण पजिटिभ आएकाहरूलाई पनि नेगेटिभ रिपोर्ट  बेचेको जानकारी आएपछि महाशाखाले अनुसन्धान थालेको थियो । 

हाल दुवै अस्पतालका सञ्चालक  फरार रहेका प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार हाल दुवै अस्पतालका पिसिआरसम्बन्धी सबै सेवा बन्द गरिएको र थप अनुसन्धान कार्य भइरहेको छ ।