स्थानीय तहको चुनाव जेठभित्र गर्न सत्तारुढ गठबन्धन तयार

न्युजलय १६ माघ २०७८, आइतबार ०१:४५ मा प्रकाशित

काठमाडौं । सत्तारुढ गठबन्धनमा रहेका दलहरु जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न तयार भएका छन् ।


शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले जेठभित्रमा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको बैठकमा सहभागी सञ्चार तथा सूचनाप्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।


उनका अनुसार गठबन्धनको निर्णयपछि अब सरकारले निर्वाचन आयोगसँगको परामर्शमा स्थानीय तहको निर्वाचनको मिति तोक्नेछ ।


बैठकले स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गर्ने पनि निर्णय गरेको छ । 


सञ्चारमन्त्री कार्कीका अनुसार ऐन संशोधन गर्न आवश्यक भए त्यसको प्रक्रिया अघि बढाउन पनि बैठकले सरकारलाई सुझाव दिएको छ ।